गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण खेल पूर्वाधारका योजना कार्यान्वयनमा आउन सकेका छैनन् । निर्माण सुरू हुन नसकी अलपत्र रहेका ती योजनालाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा भने बर्सेनि प्राथमिकताकासाथ समावेश गर्ने गरिएको छ ।
बुधबार सार्वजनिक आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रममा पनि तिनै खेल पूर्वाधार निर्माणको घोषणाले निरन्तरता पाएको छ । खेलकुद प्रवद्र्धन गर्न पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटनको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझेदारीमा मुस्ताङमा उच्च पर्वतीय रङ्गशाला निर्माणलाई अगाडि बढाउने जनाएको छ ।
प्रदेश सरकारले आव २०७५/७६ मै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उक्त रङ्गशाला बनाउने घोषणा गरेको थियो । जसलाई सङ्घ सरकारलेसमेत आगामी आवको बजेटमा समावेश गरेको छ । प्रदेश सरकारले घोषणा गरेकै वर्ष आयोजनाको प्राविधिक अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डिपिआर)का लागि रु एक करोड बजेट छुट्याएको थियो ।
प्रदेश गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा बर्सेनि छुट्टिने बजेट कामै नभई ‘फ्रिज’ हुने गरेको छ । जग्गा प्राप्तिमा भएको ढिलासुस्तीले रङ्गशाला निर्माणको योजना सुस्ताएको प्रदेश सरकारको भनाइ छ ।
प्रसिद्ध मुक्तिनाथ मन्दिरको दक्षिणपट्टी छिङ्गुरमा जग्गा व्यवस्थापनको काम भइरहेको जनाइएको छ । थोरङ्ग भञ्ज्याङ जाने मार्गको ३७ सय मिटरभन्दा बढीको उचाइमा छिङ्गुर क्षेत्र पर्छ । उक्त रङ्गशालामा फुटबल मैदान, कभर्डहलदेखि आवश्यक खेल पूर्वाधार बन्ने जनाइएको छ ।
आगामी आवको नीति तथा कार्यक्रममा प्रदेशमा क्रिकेट रङ्गशाला निर्माणको पनि घोषणा गरिएको छ । उक्त घोषणा पनि नयाँ भने होइन । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा समेटेको क्रिकेट रङ्गशाला पनि जग्गाकै कारण अन्योलमा परेको छ । पोखरा महानगरपालिका–३३ पशुपतिघाटमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणको पहल विसं २०७१ देखि नै सुरू भएको थियो ।
प्रदेश सरकार बनेपछि लाखौँ खर्चेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारियो ।
रङ्गशाला निर्माणको काम सुरू हुन सकेन । रेखदेख र संरक्षण नहुँदा रङ्गशालाको जग्गा नदी कटानको जोखिममा परेको छ । पशुपतिघाटमा रङ्गशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार अहिले नयाँ जग्गाको खोजीमा लागेको छ ।
पशुपतिघाटमा रङ्गशालाको योजना दिगो हुने नदेखिएपछि विकल्प खोजिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
क्रिकेटको गन्तव्य सहरका रूपमा विकास गर्न पोखरामा अन्तरराष्ट्रिय मापदण्डको रङ्गशाला चाहिने खेल क्षेत्रको पदाधिकारीहरूको माग छ । क्रिकेट रङ्गशालाका लागि रु एक अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको छ । विस्तृत परियोजना प्रतिवदेनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टि–२०, एक दिवसीय र टेस्ट म्याच खेल मिल्नेगरी पूर्वाधार तयार पारिने उल्लेख छ ।
रङ्गशालामा १३० भिभीआइपी सिट, एक हजार दुई भिआइपी र स्पेशल, ९०० सिट क्षमताको खेलाडी कक्ष, एक सय क्षमताको मिडिया कक्ष बन्ने जनाइएको थियो । स्रोत जुटाएर तीन/चार वर्षभित्रमै रङ्गशाला निर्माण गर्ने प्रदेश सरकारको योजना कार्यान्वयनमा भने आउन सकेको छैन । नीति तथा कार्यक्रममा सङ्घ सरकारसँग मिलेर पोखरा रङ्गशालाको स्तरोन्नति गरिने उल्लेख छ । अन्तरराष्ट्रियस्तरको पोखरा रङ्गशालामा बत्ती ‘फ्लड लाइट’ छैन ।
केही खेल पूर्वाधारको पनि अभाव छ । ठूलो धनराशि खर्चेर बनाइएको रङ्शालामा ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन हुन सकेको छैन । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्छ । १६ हजार ५०० दर्शक क्षमताको उक्त रङ्गशालामा कतिपय खेल पूर्वाधार र भौतिक संरचनाको भने अझै पनि अभाव छ ।
पोखरा रङ्गशालामा ‘फ्लड लाइट’का लागि करिब रु १२ करोड लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले केही वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्याएको रु पाँच करोड बजेट कोभिड–१९ महामारीका कारण काम हुन नसकी फिर्ता भएको थियो ।

प्रतिक्रिया