त्रिभुवन आर्मीलाई राष्ट्रिय पुरुष हक्कीको उपाधि


काठमाडौं । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो । ललितपुरको च्यासल फुटबल मैदानमा बुधबार भएको फाइनलमा आर्मीले गण्डकीलाई २–० ले हराउँदै उपाधि उचालेको हो ।

आर्मीको जितमा राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे । दुवै हाफमा समान एक गोल भयो । खेलको २२औं मिनेटमा राजेन्द्रले गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफको ४३औं मिनेटमा अम्बरबहादुरले गोल गर्दै अग्रता दोब्बर बनाए । राजेन्द्र प्लेयर अफ द म्याच भए । प्रतियोगिताको इमर्जिङ प्लेयर एपिएफका पवन माओ, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोशन राई घोषित भए । बेस्ट स्कोरर आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए ।

दुवैले समान ६ गोल गरेका थिए । आर्मीका देवसिंह धामी प्लेअर अफ द टुर्नामनेन्ट घोषित भए । प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो स्थानमा रह्यो । विभागीय डर्बीमा पुलिसले एपिएफलाई ३–० ले हराएको हो ।

शंकर घर्तिमगर दुई गोल तथा मिलन तामाङले एक गोल गरे । शंकरले तेस्रो मिनेटमा नै गोल गर्द पुलिसलाई अग्रता दिलाए । ३०औं मिनेटमा मिलनले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पुलिसले तेस्रो गोल गर्यो । ५७औं मिनेटमा शंकरले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले सहज जित निकाल्यो । गण्डकीका प्रेम विक प्लेयर अफ म्याच भए ।

पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । महिलामा भने आर्मीले जितेको थियो ।