नारायण स्पोर्ट क्लबलाई संस्कार क्रिकेट लिगको ट्रफी


कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले सुदूरपश्चिम प्रदेश खेलकुदका हिसाबले अत्यन्त सम्भावना बोकेको प्रदेश भएको बताएका छन् ।

संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेले कैलालीको धनगढीमा मंगलबार आयोजना गरेको टीम ११ संस्कार क्रिकेट लिग प्रतियोगिताको समापन कार्यक्रममा उनले क्रिकेट, भलिवललगायत विभिन्न खेलकुदमा यहाँ सम्भावना मात्र होइन, सफलता पनि मिलिरहेको बताए ।

धनगढीमा आयोजना हुने खप्तड गोल्ड कप, फारवेष्ट कप, पशुपति कपलगायत जिल्लाभित्र र बाहिर आयोजना भइरहेका फुटबल प्रतियोगिताले फुटबलको स्तरीयता मात्र होइन नयाँनयाँ खेलाडीको उत्पादनमा पनि भूमिका खेलिरहेको प्रदेश प्रमुख मियाँले बताए ।

“यहाँ आयोजना हुने साना ठूला सबै किसिमका प्रतियोगितामा दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ”, उनले भने, “खेलकुदको क्रेजले खेलाडीहरू पनि उत्साहित छन्, तर खेलकुदका संरचनाको अभाव भने केही खड्किएको छ ।” धनगढी क्रिकेटको सहर रहेको बताउँदै उनले यहाँ आयोजना हुने सबै किसिमका क्रिकेट प्रतियोगिताले धनगढीको मात्र होइन समग्र सुदूरपश्चिम प्रदेशको क्रिकेटको विकासमा ठूलो भूमिका खेलेको बताए ।

सुदूरपश्चिमलाई पहिचान गराउने, चिनाउने र वास्तविक सुन्दर पश्चिम बनाउनको लागि खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको प्रदेश प्रमुख मियाँले बताए । प्रतियोगिताको नारायण स्पोर्ट क्लब कञ्चनपुरको टिमले ट्रफीको जिते छ । विजेता क्लबले एक लाख ११ हजार १११ सहित ट्रफी प्राप्त गरेको छ ।