मोरङ । मोरङको पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम ल्याएका छन् । पथरीशनिश्चरे–२ र ८ वडाले फुटबल खेलाडी उत्पादन गर्न प्रशिक्षण सुरु गरेका हुन् ।
वडा नं २ ले ‘ए’ र ‘बी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका फुटबल खेलाडीलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । चर्च ब्वाइज युनाइटेडलाई लिग उपाधि दिलाउँदाका मुख्य खेलाडी सन्तोष न्यौपाने तथा बी डिभिजनको आरसिटीबाट खेलेका अनिल चुडाल र लालबहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको वडाध्यक्ष नैना राईले जानकारी दिए ।
वडाकै तीनवटा खेलमैदानमा ६० भन्दा बढी फुटबल खेलाडीलाई प्रशिक्षण दिइने छ । पञ्चायत माविको खेलमैदान, वन सीमाको गोलचौरी र बासघरे चौरीमा प्रशिक्षण सुरु गरिएको हो । फुटबलका माध्यबाट राष्ट्रलाई योगदान दिन खेलाडी उत्पादनको कार्यक्रम ल्याइएको वडाध्यक्ष राईले बताए।
त्यसैगरी, वडा नं ८ ले पनि खेलाडी उत्पादनका लागि फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पथरी शनिश्चरे–८ मा भर्खरै निर्माण सम्पन्न बुद्घ मावि ९प्रस्तावित नगर रङ्गशाला०मा खेलाडीलाई प्रशिक्षण दिइने भएको छ । वडा नं ८ ले पनि बजेट विनियोजन गरेर फुटबल प्रशिक्षण सुरु गरेको छ । पहिलो चरणमा वडाको एक स्थानमा फुटबल मैदान भएकाले धेरै खेलाडीलाई समेट्ने प्रयास गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए।
पथरी शनिश्चरे नगरमा मात्र आधा दर्जन खेलाडी बी डिभिजन लिगमा सहभागी भएका छन् । चौध वर्षदेखि १८ वर्षका खेलाडी दुवै वडाले सुरु गरेको फुटबल प्रशिक्षणमा सहभागी भएका छन् । यसरी स्थानीय सरकारले नै खेलाडी उत्पादनका लागि कार्यक्रम ल्याउनु सकारात्मक भएको खेलाडी बताउँछन् ।

प्रतिक्रिया