प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो।
१५५ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको पुलिसले ओपनर ब्याटर कुशल भुर्तेलको अर्धशतकको सहयोगले उक्त लक्ष्य २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
पुलिसका लागि ओपनर भुर्तेलले ६१ रन बनाए। उनले ७० बलको सामाना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अमित श्रेष्ठले ३९ रन बनाए भने दिलिपनाथले अविजित ३१ रन प्रहार गरे। बलिङमा आर्मीका साहब आलमले ३ विकेट र नरेन साउदले १ विकेट लिए।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो।
२५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र बसीर अहमदले पारीलाई सम्हाल्दै ७५ रनको साझेदारी गरेपछि आर्मीले मध्यम स्कोर तयार गरेको थियो।
आर्मीका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए। कप्तान विनोद भण्डारीले २९ रन बनाए। यस्तै, विवेक यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
आर्मीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा १ मेडेनसहित ३० रन खर्चेर ३ विकेट लिए। सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिदा कप्तान दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो। यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो।
प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए।