विराट गोल्डकपमा आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको छ ।
सहिद रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितका लागि थ्रीस्टारका प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले १–१ गोल गरे ।
थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दीपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढङ्गले जाली चुमाए ।
दोस्रो गोल खेलको २८औँ मिनेटमा भयो । आशिष चापागाईंले निकालेको पासलाई दीपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१औँ मिनेटमा भयो । नवीन लामाले गोल गर्दै जित सुनिश्चत गरे ।
आर्मीका तर्फबाट कप्तान नवयुग श्रेष्ठ तथा निरज चौधरीले समान १–१ गोल फर्काए । नवयुगले खेलको ८३औँ मिनेटमा गोल गरे । दोस्रो गोल आर्मीका निरज चौधरीले पेलान्टी सुटआउटबाट गरे ।
आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा ‘डिबक्स’ भित्र थ्रीस्टारका खेलाडीले ‘फल’ खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए । प्रतियोगिताको ‘प्लेयर अफ दी म्याच’ थ्रीस्टारका प्रशान्त लिम्बू घोषित भए ।
उनले नगद ११ हजार पाए । जितसँगै उपाधि रक्षाका लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्बइजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । विसं २०७४ मा पनि थ्रीस्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो ।
तत्कालीन राजा महेन्द्रको नामबाट विसं २०१८ मा महेन्द्र गोल्डकप सुरु गरिएकामा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आइएको छ । पञ्चायतकालमा २७ तथा बहुदल आएपछि विराट गोल्डकपका नामबाट यो नवौँ प्रतियोगिता हो ।
यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ११ लाख तथा उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए ।