प्रधानमन्त्री कप क्रिकेट: आर्मीद्वारा सुदूरपश्चिम पराजित
बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर चारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ ।
त्रिभुवन आर्मी क्लबले दिएको एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा ९६ रन मात्रै समेटिए । उसका लागि मनिसा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाए पनि अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीका लागि बलिङ सुस्मिता भुसालले तीन विकेट हात पारिन् ।
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् ।
सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन् ।
आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।
माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५ हजारका दरे पुरस्कार दिइनेछ ।