पोखरामा हुने नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ मा २० समूहले सहभागिता जनाउने
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस १४ गतेदेखि नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ प्रतियोगिता हुने भएको छ । पर्यटकीय राजधानी पोखरामा हुने दोस्रो सङ्करणको ड्रागन वोट रेस प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह–आयोजनामा ड्रागन वोट रेस आयोजना हुने भएको हो ।
दुई सय र पाँच सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार दुई सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ ।
ड्रागन वोटको दोस्रो संस्करण पनि फेवाताल हुनेछ । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूतावासमा डेपुटी चिफ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर््द्धन हुने अपेक्षा राखिएको बताए ।
उनले भने, “नेपाल र चीनबीचको संस्कृति आदनप्रदानका साथै नेपालको पर्यटन उद्योगको विकास गर्न, नेपालको पर्यटकीय क्षेत्र र खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रचार गरी विकास गर्न प्रतियोगिता उपयोगी हुनेछ । नेपालको पर्यटन प्रवर्द्धन गर्न चीन सधैँ सकारात्मक छ ।”
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय बजार भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण थपेको बताए ।
“यो आकर्षक प्रतियोगिता भएकाले उत्साहित छौँ । नेपालको दोस्रो ठूलो स्रोतबजारबाट पर्यटकलाई आकर्षण गर्न र गन्तव्य प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, कार्यकारी प्रमुख जोशीले भने, “प्रतियोगितालाई विगतभन्दा अझ सशक्त र प्रभावकारी बनाएर लैजान सकेमा चीनसँगको सम्बन्ध विस्तार हुने र थप प्रचारप्रसार भएर पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौँ महिनाको पाँच गते चीनमा ‘ड्रागन वोट फेष्टिभल’ आयोजना हुन्छ ।
चीनका विभिन्न प्रान्तमा तीनदेखि सात दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन वोट फेष्टिभल चीनको चार ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।
सन् २०१९ मा चीनबाट एक लाख ६९ हजार पाँच सय ३४ र २०२३ मा ६० हजार आठ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को जनवरीदेखि नोवेम्बरसम्म ९२ हजार आठ सय ४८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडिसहितको प्रतिनिधिमण्डल विमान चार्टड गरेर पोखरा आउने आयोजकले जनाएको छ ।