एनआरटी क्लब झापा कपको सेमिफाइनलमा


 

 

झापा । कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीबार भएको खेलमा चित्लाङ एफसी क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १३औँ मिनेटमा एनआरटीका लागि कप्तान अञ्जन विष्टले पहिलो गोल गरे । यस्तै खेलको ३६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पुर्याए । चित्लाङ एफसीका गौरव श्रेष्ठले अञ्जनलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको हो ।

यसैगरी खेलको ४२औँ मिनेटमा चित्लाङ एफसीले गोल फर्कायो । उसका लागि जनक कोइरालाले गोल गरेका थिए । खेलको ६५औँ मिनेटमा नेमारले एनआरटीका लागि तेस्रो गोल गरे । खेलको ६८औँ मिनेटमा शिशिर लेखीले एनआरटीका लागि चौथो गोल गरे । खेलको ८८औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीका लागि अञ्जनले ह्याट्रिक गोल गरेका थिए । जारी प्रतियोगितामा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

शुक्रबार पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच तथा अर्को सेमिफाइनल एनआरटी र इटहरीको राष्ट्रिय जागृति क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले  पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल यही पुस ८ गते हुनेछ ।