चितवनद्वारा जनकपुर पराजित, जितसँगै चितवन प्लेअफमा पुग्ने सम्भावना बलियो



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा  १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अङ्क छ ।

आइतबार हुने काठमाडौँ गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । उक्त खेलमा काठमाडौँ गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ । यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुङ्गो रनरेटका आधारमा हुनेछ ।

जारी प्रतियोगिताबाट लुम्बिनी लायन्स यसअघि नै बाहिरिएको छ भने आजको खेलपछि बिराटनगर किङ्ग्स र पोखरा एभेञ्जर्स पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।

आजको खेलमा एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । उसका लागि जिमी निशमले २७० दशमलव ८३ को स्ट्राइक रेटमा ६५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उनले २४ बल खेल्ने क्रममा पाँच चौका र छ छक्का प्रहार गरे । साथै आसिफ शेखले २३, शुभ कङ्साकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

चितवनको जितमा रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले समान दुई/दुई विकेट लिए भने अमर रौतेलाले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो ।

उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रबि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

  धरान । आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि

मच्छिन्द्र आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

  कास्की । मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब

विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको