भाङबारी स्पोर्टिङ क्लब आत्मानन्द गोल्डकपको सेमिफाइनलमा
इलाम । झापाको भाङबारी स्पोर्टिङ क्लब जिल्लाको माङसेबुङमा जारी ‘१७ औँ संस्करणको आत्मानन्द गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको खेलमा आयोजक आत्मा–पवित्र खेलकुद समिति विरुद्ध ४–१ गोलको सानदार जित निकाल्दै भाङबारी सेमिफाइनल प्रवेश गरेको हो ।
जितका लागि भाङबारीका तर्फबाट पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले गोल गरे । आयोजकका तर्फबाट भने एकमात्र सान्तवाना गोल आसाङ योङहाङले फर्काए । सुरुआती अग्रता लिएको भाङबारीले अन्त्यतिर चामत्कारिक खेल प्रदर्शन गर्दै सहज जित निकाल्यो ।
खेलको १२औँ मिनेटमा नै पेमा तामाङको गोलमा भाङबारीले अग्रता लियो । ४५औँ मिनेटमा आयोजकका आसाङले गोल गरी बराबरीमा ल्याए । ६४औँ मिनेटमा देवेन्द्र तामाङको गोलमा भाङबारीले २–१ को अग्रता बनायो । उत्तरार्धमा चम्किएको भाङबारीका रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले इन्जुरी समयमा लगातार दुई गोल गरी ४–१ को जित दिलाए ।
खेलमा विजेता भाङबारीका देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । मङ्गलबार झापाको दुधे युथ क्लब र चुलाचुली स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव सरिता राईले जानकारी दिइन् । गोल्डकमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टोलीको सहभागिता छ ।
विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद दुई लाख पाँच हजार एक सय ७१ प्राप्त गर्नेछन् । स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१औँ जन्मोत्सवको अवसरमा आयोजित आत्मा–पवित्र खेलकुद विकास समितिको आयोजनामा सुरु भएको गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ ।