प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई
काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ । शनिबार नेपाली कांग्रेस झापा–१ सांसद सचिवालय तथा झापा–१ काठमाडौं सम्पर्क समितिको संयुक्त आयोजनामा जावलाखेलस्थित डीएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । खेलमा धाइजनका देवासिस प्रसाईंले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् ।
प्रथम कार्कीले मेचीनगरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै मेचीनगरको अग्रता ३–१ मा पुर्याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए ।
खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन । यद्यपि, उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए । मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरगढीलाई ३–० ले पाखा लगायो ।
ज्यामिरगढीले ‘बाइ’ पाउँदै सिधै अन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरगढीले सदुपयोग गर्न सकेन । उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँ पायो ।
झापा प्रतिनिधिसभा क्षेत्र नम्बर – १ का सांसद एवं नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एउटा टोली बनाउने जानकारी दिए ।
मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भयो । राजनीति दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो । शर्माले पहिलो हाफमै दुई गोल गरे । यस्तै, भास्कर काफ्लेले पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो ।
दोस्रो हाफमा राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एक–एक गोल गरे । यस्तै, कलाकारको टिमबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो । राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए । यस्तै, कलकारबाट प्रमोद प्रसाईं, भानुभक्त ढकाल, टीका भण्डारी, सरोज वली, प्रशान्त सिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले खेलेका थिए ।