म्यानचेस्टर युनाइटेडका नयाँ प्रबन्धक अमोरिमसँग कुनै सम्पर्क भएको छैन : भान निस्टेलरोय
लण्डन । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक रुड भान निस्टेलरोयले क्लबमा आफ्नो भविष्यबारे आगामी प्रबन्धक रुबेन अमोरिमसँग कुनै कुराकानी नगरेको बताएका छन् । उनले युरोपा लिगको क्याम्पेनलाई पुनः सुरु गर्ने प्रयास गर्दैछन् ।
गत साता एरिक टेन हागलाई बर्खास्त गरेपछि ओल्ड ट्राफोर्डमा अस्थायी रूपमा जिम्मेवारी सम्हालेका पूर्व स्ट्राइकर भान निस्टेलरोयले लिग कपमा लेस्टर सिटीविरुद्ध ५–२ को जित र प्रिमियर लिगमा चेल्सीविरुद्ध १–१ को बराबरी खेलेका छन् ।
बिहीबार ग्रिसको पिएएओकेसँग खेल्ने युनाइटेडले युरोपमा सुस्त सुरुवात गरेको छ र युरोपा लिगमा अहिलेसम्मका तीनवटै खेलमा बराबरी नतिजा निकालेको छ ।
मङ्गलबार पोर्चुगलको लिस्बनमा म्यानचेस्टर सिटीविरुद्ध ४–१ को जित दिलाउने क्रममा स्पोर्टिङ प्रशिक्षक बनेका अमोरिमसँग कुराकानी गरे नगरेको सवालमा निस्टेलरोयले भने, “होइन, अहिलेसम्म मैले उहाँसँग कुनै सम्पर्क गरिनँ, त्यसमा कुनै परिवर्तन भएको छैन ।” अमोरिम नोभेम्बर ११ मा युनाइटेडको प्रशिक्षक बन्दैछन् ।
डच प्रशिक्षक निस्टेलरोयले पहिले नै ओल्ड ट्राफोर्डमा बस्ने इच्छा व्यक्त गरिसकेका छन् तर उनले आफ्नो भविष्यबारे अनिश्चित रहेको बताए ।
“अहिले यसमा टिप्पणी गर्न गाह्रो छ, म कुराकानी हुने प्रतीक्षामा छु”, उनले भने,“त्यस बीचमा स्पष्ट रूपमा यस फुटबल क्लबका लागि अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको दैनिक आधारमा र भोलि युरोपमा आउने खेलमा काम गर्नु हो ।”
“यो ओल्ड ट्राफोर्डमा युरोपेली रातको खेल हो, जसमा ग्रिक च्याम्पियनसँग खेल्नु छ । ग्रिक च्याम्पियन अहिले लिगमा दोस्रो स्थानमा छ । म इमान्दार हुनुपर्छ भन्ने मलाई लाग्छ, आगामी हप्तामा राम्रो गर्ने जिम्मेवारी मेरो छ र यही मेरो काम हो । म यसमा केन्द्रित छु”, भान निस्टेलरोयले भने, “म रुबेनलाई स्वागत गर्दछु, म उहाँलाई सहयोग गर्न पाउँदा खुसी छु र अहिलेको अवस्था यही हो ।”