अफगानिस्तानकी खेलाडी तलाश पेरिस ओलम्पिकबाट अयोग्य घोषित


शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलाशलाई ‘अफगानी महिलालाई स्वतन्त्र गर’ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिबाट अयोग्य घोषित गरिएको विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार जनाएको छ ।

२१ वर्षीया बी–गर्ल तलाश नेदरल्यान्ड्सको इंडिया सार्डजो विरुद्धको पहिलो प्रतिष्पर्धाको ठीक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् ।

‘शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलाशले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोशाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो’, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ ।

नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मिएकी तलाश देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आएकी छन् ।

‘मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरुका लागि,आफ्नो भविष्यको लागि देश छोडेको हो’, उनले प्रतियोगिता अघि भनेकी थिइन् ।

‘मैले आफ्नो लक्ष्य पुरा गर्ने जोखिम लिएँ। मेरो हृदयमा डर छ तर म हार मान्दिनँ’, उनले सन् २०२१ मा एएफपीलाई भनेकी थिइन् ।

पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेको तीन महिलासहित ६ जना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए ।