प्रधानमन्त्री कप भलिबलमा एभरेस्ट क्लब विजयी


काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत मंगलबार भएको महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब विजयी भएको छ ।

एभरेस्टले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा एभरेस्टले न्यु डयामन्ड स्पोर्टस् क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको हो ।

एभरेस्टले पहिलो सेट २५–२१ अङ्कले, दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–१८ अङ्कले जितेको हो । जितसँगै एभरेस्टले तीन खेलबाट नौ अङ्क जोडेको छ ।

एभरेस्टले यसअघि कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । यसैगरी न्यु डायमन्ड तीनवटै खेलमा पराजित भएको छ ।

यसअघि उसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–२ तथा नेपाल पुलिस क्लबसँग ३–१ सेटमा हार ब्यहोरेको थियो । आज सम्पन्न पुरुषतर्फका खेलमा गण्डकी प्रदेशले बूढानीलकण्ठलाई ३–१ सेटमा पराजित गर्यो ।

यसैगरी नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई तथा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई समान ३–० सोझो सेटमा हरायो । आजै भएको पुरुषतर्फको अर्को खेलमा हेल्प नेपालले सशसस्त्र प्रहरी बलको एपिएफ क्लबाई ३–० सेटले पराजित गर्यो ।