चौथो मञ्जुश्री ट्रेल रेसमा आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता



 

काठमाडौँ । खेल पर्यटनलाई प्रवद्र्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ ।

प्रतियोगिताका विभिन्न चरणका दौडसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् ।

उनले एक सय माइलको दूरी २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए । यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका छन् ।

यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४०  सेकेन्डमा दौड पूरा गर्दै विजय मगर तेस्रो भए ।

एक सय किलोमिटरको दौड १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोका मगर विजेता बनेका छन् । यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरी फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७  सेकेन्डमा दौड पूरा गरी अविनाश देवकोटा तेस्रो भए ।

साथै ५० किलोमिटर दौड प्रतियोगिता अन्तर्गत सात घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ आठ घण्टा २२ मिनेट पाँच सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने ।

यस दलौमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमशः सात घण्टा १८ मिनेट ११ सेकेन्डमा र नौ घण्टा १३ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भएका छन् ।

यस्तै पुरुषतर्फ दीपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः आठ घण्टा चार मिनेट ३६ सेकेन्डमा र नौ घण्टा १६ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

यस संस्करणमा एक सय माइल, एक सय  किमि र ५० किलोमिटर प्रतियोगिताक शीर्ष पाँच खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा छनोट भएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल  दौडमा प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै ३० किलोमिटर दौड चार घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने भने  चार घण्टा ५७ मिनेट २९  सेकेन्डमा दौड पूरा गर्ने लुकास सेर्डन दोस्रो र चार घण्टा ५७ मिनेट ४५  सेकेन्डमा दौड सम्पन्न गर्ने एण्ड्रियु एलकक तेस्रो भए ।

यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले छ घन्टा ४५ मिनेट २१ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फको ३० किलोमिटर दौड प्रतियोगितामा  विजेता बनिन् ।

बेलायतकी जेन्नी चाप्लिनले सात घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी दौड पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले सात घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।

दश  किलोमिटर दौड एक घण्टा दुई मिनेट पाँच सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए भने एक घण्टा दुई मिनेट छ सेकेन्डमा दौड  पूरा गरेर रेम बुढामगर दोस्रो र  एक घण्टा दुई मिनेट आठ सेकेन्डमा दौड पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितालाई समावेशी बनाउन आज दुई किलोमिटरको विशेष दौड समेत सम्पन्न गरिएको छ । जसमा अपाङ्गता भएका बालबालिकाहरु सहभागी थिए ।

नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो दौड प्रतियोगितमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।

शुक्रबार बिहान ८ बजे इचङ्गुनारायणस्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट एक सय माइलको दौड सुरू भएको थियो ।

धावकहरुले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल नौ हजार आठ सय मिटरको उचाइ लिएका थिए ।

अध्यक्ष थापाका अनुसार दौडअन्तर्गत छोटो दूरीका दौड पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको दौड झुलेबाट, ५० किलोमिटरको दौड  बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज दौड फर्पिङको डोल्लुबाट सुरू भएको थियो ।

ट्रेलमाण्डुको यो प्रतियोगितामा पाँच स्टेज दौडको फाइनल दौड हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको दौड सुरू भइ सिङ्गल ट्रीमै सकिएको यस दौडमा एक सय धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको दौडमा नेपालसहित १६ मुलुकका तीन सय २४ धावकहरू सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ । सहभागी धावकमध्ये यस्तै दुई सय ८९ जना पुरुष र ३५ जना महिला रहेका थिए । विभिन्न चरणमध्ये सय माइलको दौडमा चार महिला सहित १८ धावक सहभागी थिए ।

यस संस्करणमा नेपाल, चीन, सिङ्गापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

एक सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने दौडभन्दा मञ्जुश्री ट्रेल दौडको महत्व बढ्दै गएको बताउँछन् । त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि दौडमा सहभागी भएको उनले सुनाए । उनले सन् २०२२ को आफ्नै रेकर्ड तोड्दा एकदमै खुशी भएको समेत सुनाए ।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् २०१६ मा यो रूट छिचोले । जिमी ओस्त्रोम,  राज प्रधान,  नारायण आचार्यलगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापाको भनाइ छ ।

आयोजकका अनुसार एक सय माइलको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार,  ४० हजार र  २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । एक सय किलोमिटर दौडका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः  ४० हजार,  २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पचास किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः  ३० हजार,  १५ हजार र  १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः  २० हजार,  १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि