आयरल्यान्ड ‘ए’ सँग नेपाल पराजित


काठमाडौं । आयरल्यान्ड ‘ए’ सँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले लज्जास्पद हार बेहोरेको छ । आयरल्यान्ड ’ए’ ले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ ओभर ५ बलमा ६० रनमै अल आउट भयो ।

नेपालका भीम सार्कीले सबैभन्दा धेरै १७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् ।

बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ६ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ४ बलमा १ सय ७४ रन बनाउँदा अल आउट भयो ।

आयरल्यान्ड ‘ए’ का गभिन होएले ५०, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल ’ए’ का रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए ।

यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए । योसँगै आयरल्यान्ड ‘ए’ ले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । पहिलो खेलमा नेपाल ’ए’ २१ रनले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।