काठमाडौं । नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसी तेस्रो स्थानमा उक्लेको छ । शनिबार भएको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेर्जसलाई २–१ गोलले पराजित गर्दै बुटवल तेस्रो स्थानमा उक्लेको हो ।
बुटवलको पाँच खेलबाट सात अंक रहेको छ । समान ८–८ अंक रहेको धनगढी र पोखरा थन्डर्स क्रमस पहिलो र दोस्रो स्थानमा रहेका छन् । खेलको २९ औं मिनेटमा स्टेफेन समिर विनोङले गोल गर्दै बुटवललाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको बुटवलले दोस्रो हाफमा थप एक गोल गर्दा काठमाडौंले एक गोल फर्काएको थियो । खेलको ६१ औं मिनेटमा बुटवलका जिलेप्सी जंग कार्कीले उपलब्ध गराएको बलमा कप्तान एरिक विष्टले फस्ट टचमै गोल गरे ।
खेलको अतिरिक्त समयको छैटौं मिनेटमा काठमाडौंले एक गोल फर्काएको थियो । काठमाडौंका लागि राजिव लोप्चनले गोल गरेका हुन् । खेलको अन्तिम समयमा बुटवलका प्रकाश बुढाथोकीले गरेको गोललाई रेफ्रिले अफसाइड दिएका थिए ।
पराजयसँगै साविक विजेता काठमाडौंको अपराजित यात्रामा ब्रेक लागेको छ । पहिलो हार ब्यहोरेको काठामाडौंले ४ खेलमा ५ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया