भलिबलमा पोखरेली दर्शकको बढ्दो उत्साह, फाइनल खेलमा तीन हजार टिकट बिक्री



कास्की । सयौँ दर्शकको भीड, समर्थनको उत्साह उस्तै । बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको थियो, गण्डकी प्रदेशको भलिबल टोली । गण्डकीसँग प्रतिस्पर्धा गरिरहेको थियो, विभागीय टोली नेपाल पुलिस क्लब । पोखरामा भएको लामाचौर कप राष्ट्रिय भलिबलको फाइनल हेर्न मङ्गलबार चार हजारभन्दा बढी दर्शक मैदान पुगेका थिए । उनीहरु अधिकांशको साथ घरेलु टिम गण्डकी प्रदेशलाई थियो ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको प्रतियोगिताको फाइनल निकै रोमाञ्चक अवस्थामा पुगेको थियो । गण्डकी र पुलिसले दुई–दुई सेट आफ्नो पक्षमा पारेपछि अन्तिम सेट १४–११ स्थितिमा आयो । अग्रता बनाएको गण्डकीलाई पाँचौँ सेटमा खेल जित्न एक नम्बर आवश्यक थियो ।

गण्डकीका सेटर सुजन चोखालले अगाडिका दुई स्पाइकरलाई छाडेर ओपन स्पाइकर रवि केसीका लागि बल सेट गरिदिए । खेल जित्नुपर्ने दबाब एकातिर, अर्कोतर्फ दर्शकको हुटिङ । दबाबभन्दा बढी जोशमा रवि केसीले सट प्रहार गरे । अन्ततः उनले प्रहार गरेका बल पुलिसको कोर्टमा झर्यो, गण्डकीले खेल जित्यो । त्यो समय खेलाडी जति खुसी थिए, त्योभन्दा बढी दर्शकमा खुसीयाली देखियो ।

जितपछि गण्डकीका खेलाडी रवि केसीले दर्शकको साथ र मायाले नै खेल जितिएको प्रतिक्रिया दिए । फाइनलमा अन्तिम सट प्रहार गर्न बाहिरको हुटिङ र साथले आँट पलाएको उनले बताए । “खेलको दबाब एकातिर थियो, अर्कोतर्फ त्यत्रा दर्शकको माया खेर जान्छ कि भन्ने थियो मनमा”, रवि भन्छन्, “दर्शकले हुटिङ नगरेको भए जोश आउने थिएन होला ।”

लामाचौरमा फाइनलका दिन सोचेभन्दा बढी दर्शक आएको गण्डकी प्रदेश भलिबल टोलीका कप्तान हरि पाण्डेले बताए । “म धेरै ठाउँमा खेल्दै हिँडेको छु, गण्डकी प्रदेशलाई धेरै ठाउँका दर्शकले माया गर्नुहुन्छ”, उनले भने, “गण्डकी हाम्रो घरेलु मैदान हो । त्यसैले यहाँ हाम्रा समर्थक धेरै छन् । फाइनलमा नसोचेको माया पायौँ । उहाँहरूको हौसलाका कारण पनि खेल जितियो ।” पोखरामा हुने टाइगर कपदेखि अन्य प्रतियोगितामा दर्शकले राम्रो साथ दिने गरेको कप्तान पाण्डेले बताए ।

खेलाडीको राम्रो प्रदर्शनअनुसार खेल जितिने भए पनि दर्शकको समर्थन महत्वपूर्ण रहेको गण्डकी प्रदेश भलिबल टोलीका प्रशिक्षक रमेश केसीले बताए ।

खेलाडीलाई जित्नुपर्छ भनेर कोर्टमा पठाए पनि दर्शकको हौसला र समर्थनकै कारण आफूलाई पनि ऊर्जा थपिने गरेको प्रशिक्षक केसीले सुनाए । राष्ट्रिय खेल भलिबलमा पछिल्लो समय उत्साह बढ्दै गएको प्रशिक्षक केसीले बताए । घरेलु दर्शकको मायाका कारण यसअघि पोखरामै भएको तेस्रो टाइगर कप भलिबलको उपाधि पनि गण्डकी प्रदेशले जितेको उनले सम्झिए ।

पोखरा फूलबारीबाट फाइनल खेल हेर्न पुगेका स्पन्दन गुरुङले भलिबल भनेपछि हुरुक्कै हुने गरको बताइ । आफू गण्डकीको समर्थक भएकाले गण्डकी खेल हुँदा जसरी पनि खेल हेर्न पुग्ने गरेको उनले सुनाए ।

“भलिबल भनेपछि म त हुरुक्कै हो । अझ गण्डकीको खेल हुँदा त जस्तो काम भए पनि छाडेर खेल हेर्न पुग्छु”, उनले भने, “कहिलेकाहीँ हेर्न आउन भ्याउदिनँ त्यो बेला मोबाइलबाटै लाइभ हेरेर चित्त बुझाउँछु ।”

नेपाल भलिबल सङ्घका निवर्तमान सचिव डिबी नेपालीले पछिल्लो समय पोखरामा मात्र नभएर गण्डकी प्रदेशभरमै भलिबलप्रति उत्साह बढ्दै गएको बताए । जतिसुकै ठूलो प्रतियोगिता पनि दर्शकको अनुपस्थितिमा खल्लो हुने उनको तर्क थियो । तर गण्डकी प्रदेशको जुनसुकै स्थानमा हुने भलिबल प्रतियोगितामा दर्शकले राम्रो साथ दिएको नेपालीले बताए ।

लामाचौरमा भएको खेल हेर्न पोखरा मात्र नभएर छिमेकी जिल्ला र पोखरा घुम्न आएका अन्य जिल्लाका दर्शक पनि मैदानमा पुगेको प्रतियोगिताका अर्थ समिति संयोजक बुद्धिबहादुर केसीले बताए ।

फाइनलमा मात्र तीन हजार टिकट बिक्री भएको संयोजक केसीले जानकारी दिए । “हामीले एकैदिनमा तीन हजारभन्दा बढी टिकट बिक्री गर्यौँ”, उनले भने, “त्योबाहेक प्रायोजक, अतिथि सबै गेरर चार हजारभन्दा बढी दर्शक हुनुहुन्थ्यो ।”

आयोजकले प्रतियोगिताका लागि भनेर चार हजार अट्ने अस्थायी प्यारापिट निर्माण गरेको थियो । फाइनलका दिन त्यो प्यारापिटमा नअटेर भुइँमा बसेरै खेलको मज्जा लिएका थिए । यसले गर्दा पछिल्लो समय पाखरेलीको भलिबलप्रतिको मोह बढ्दै गएको उनले बताए ।

टिकट काटेरै दर्शक मैदान पुग्दा आफूहरूलाई प्रतियोगिताको खर्च व्यवस्थापनमा पनि सहयोग मिल्ने केसीले बताए । “हामीलाई प्रतियोगिता गर्दा खर्च हुन्छ । उहाँ भलिबलको माहोल पनि राम्रो छ । टिकट काटेरै पनि दर्शक आउनुहुन्छ”, केसीले भने, “टिकट बिक्रीबाट यो वर्ष करिब १३ लाख आम्दानी हुने अनुमान गरेका छौँ । यसले गर्दा खर्च व्यवस्थापनमा पनि सजिलो हुन्छ ।”

गत वर्ष टिकट बिक्रीबाट १२ लाख जम्मा गरिएको उनले बताए । सोही कारण पनि पोखरामा भलिबलप्रति दर्शकको उत्साह बढ्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय