राजेन्द्र शाक्य धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको क्वाटरफाइनलमा
काठमाडौं । पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता, २०८० अन्तर्गत पुरुष एकलको क्वाटरफाइनलमा राजेन्द्र शाक्य सीमित बनेका छन् ।
अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका शाक्य अन्तिम क्वाटरफाइनलमा उमित शाक्यसँग ११–५, ११–८, ११–८ ले पराजित भए । एशियाली खेलकुदका पछिल्लो संस्करण जाकार्ता एशियाडमा नेपालको प्रतिनिधित्व गरेका राजेन्द्रले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदपछि सन्यासको घोषणा गरेका हुन् ।
राजेन्द्र र उमितबीचको खेलसँगै पुरुष एकलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । एक दिनअघि गत विजेता अरहन्त केशर सिम्हा, दीपक थापा र अमिर ब्लोन अन्तिम चारमा पुगेका थिए ।
उपाधि भिडन्तमा पुग्न भोलि अरहन्तले उमित र अमिरले दीपककको सामना गर्नेछन् । बुधबार नै भएको मास्टर्स (प्लस ५०) विधाको सेमिफाइनल खेल जितेर प्रवीणवीर सिंह कंशाकार र सुदीपबहादुर सिंह उपाधि भिडन्तमा पुगेका हुन् । प्रवीणले प्रज्वल प्रकाश प्रधानलाई ११–६, १०–१२, ११–४, ११–८ र सुदीपले धीर पुनलाई ११–८, ११–५, ५–११, ११–८ ले हराए ।