सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै उनलाई विदेश जान अनुमति दिएको हो ।
सन्दीपको मुद्दामा आइतबारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो ।
सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको थियो । त्यसपछि संयुक्त इजलासबाट सन्दीपलाई राहत दिने गरी आदेश आएको हो ।
सन्दीपलाई बलात्कार गरेको अभियोग लागेको छ । त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।
जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशपछि उनी पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए।