सन्दीपको रिट प्रधान र चुडालको इजलासमा
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको रिट निवेदन न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने भएको छ । सन्दीप लामिछानेले आफू विदेश जान पाउनु पर्ने माग गरेका छन्। उच्च सरकारी वकिल कार्यालयले भने सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ ।
यसअघि शुक्रबार सन्दीपको रिटमा सुनुवाइ भए पनि विदेश जाने अनुमतिबारे निर्णय भएको छैन । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पीडितका तर्फबाट पनि रिट निवेदन परेकाले सँगै राखेर हेर्ने र सन्दीपको निवेदन तत्काल टुंगो लगाउनुपर्ने देखिएकाले अग्राधिकार दिने आदेश दिएको थियो ।
प्रधान र चुडालको इजलासमा सुरुमै उक्त रिटमा सुनुवाइ हुनेछ । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्चमा पुगेका हुन्।