भलिबलमा पुलिस च्याम्पियन
काठमाडौं । काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आइतबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्ड एकेडेमीलाई ३-२ को सेटमा हराउँदै विभागीय टोली पुलिस च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा राम्रो शुरुवात गरेपनि डायमण्डले लयलाई निरन्तरता दिन नसक्दा उपाधि गुमाउन बाध्य भयो । पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५-२७ ले गुमायो ।
तेस्रो सेटमा डायमण्ड २७-२५ ले विजयी भएको थियो । तर चौथो र पाँचौ सेटमा पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै २-२ को बराबरी गरेको पुलिसले पाँचौ सेट १५-११ ले जित्दै पुलिसले ३-२ सेटको जीत निकालेको हो ।
यसअघि तेस्रो स्थानको लागि भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।