आहारारा गोल्डकपमा एपीएफलाई हराउदै संकटा फाइनलमा
पोखरा । साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ। बुधबार पोखरा रंगशालामा भएको सेमीफाइनल खेलमा संकटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे ।
नयाँ खेलाडी भित्राएर प्रतियोगितामा भाग लिएको संकटाका लागि गोल गर्नै दुवैजना विदेशी खेलाडी हुन् । पोखरामा जारी २२ औं आहा रारा गोल्डकपको सेमीफाइनल खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा संकटाकै अर्का खेलाडी मेसुके ओलामाउले अर्को गोल गर्न सफल भए। त्यसैगरी, खेलको ६० औं मिनेटमा पुनः स्टेफन बिनोङले दोस्रो गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए ।
खेलमा निकै आक्रमक बने पनि एपीएफका खेलाडीले भने पटक–पटक पाएको अवसर गुमाएका थिए। खेलको ७३ औं मिनेटमा हरि कार्की एपीएफका लागि पहिलो गोल गर्न सफल भएका थिए । तर, ८५ औं मिनेटमा संकटाका खेलाडी मेसुकेले पुनः अर्को गोल गर्दै संकटाको ४–१ को जित पक्का गरे ।