नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान


काठमाडौं । नेपाल प्रहरीले नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आइतबार सम्मान गरेका हुन् ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहेका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे ।

प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गरेकै कारण सङ्गठनको गरिमा उँच्चो हुँदै आएको बताए ।

प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उच्च प्रशंसा गरे । उनले खेलाडीले सफलता पछाडिको सङ्घर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित प्रतियोगितामा नेपाल प्रहरीका तर्फबाट सहभागी खेलाडीहरूले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कूल एक सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

विजेता खेलाडीलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई १० हजार, रजत पदक विजेतालाई सात हजार र कास्य पदक विजेतालाई पाँच ५ हजार प्रदान गरिएको थियो ।