काठमाडौं । नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो ।
खलिफा रंगशालामा पहिलो हाफमै २–० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । मेम्फिस डिपाएसँगै विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले नेदरल्यान्ड्सको जितमा १–१ गोल गरे ।
हाजी राइटले अमेरिकाको लागि फर्काएको गोल सान्त्वनामा सीमित भयो । दोस्रो हाफको ७६ औँ मिनेटमा हजी राइटले गोल गरेसँगै अमेरिकाले खेलमा फर्कने प्रयास गरेको थियो । तर, खेलको ८१ औँ मिनेटमा नेदरल्यान्ड्सका डेन्जलले गोल गरेसँगै अमेरिका ३–१ले हार्न पुग्यो ।
नेदरल्यान्ड्स विश्वकपको पछिल्ला १९ खेलमा युरोपबाहिरका टिमसँग हारेको छैन । सन् १९९४ को क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएपछि नेदरल्यान्ड्स युरोपबाहिरको टिमसँग हारेको छैन । नेदरल्यान्ड्सले अब अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिना र अष्ट्रेलियाले आजै प्रतिस्पर्धा गर्नेछन् । नेदरल्यान्ड्स समूह ‘ए’को विजेता टिम हो । समूह चरणमा नेदरल्यान्ड्सले सेनेगललाई २–० ले हराएको थियो भने इक्वेडरसँग १–१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा आयोजक कतारमाथि २–० को विजय हासिल गरेको थियो ।

प्रतिक्रिया