प्रदेश १ ले बाग्मतीलाई ६९ रनले हरायो, अङ्कितको शतक


काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा प्रदेश १ ले बाग्मती प्रदेशलाई हराएको छ । मङ्गलवार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा प्रदेश १ ले बाग्मतीलाई ६९ रनले हरायाे ।

प्रदेश १ ले दिएको तीन सय पाँच रनको लक्ष्य पछ्याएको बाग्मती ४५ ओभर ५ बलमा दुई सय ३५ रन बनाउँदा अलआउट भयो । उसका लागि नन्दन यादवले सर्वाधिक ४३ र इशान पाण्डेले ३५ रन बनाए । बलिङतर्फ प्रदेश १ का श्रवण यादवले तीन तथा फिरदोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ का लागि अङ्कित सुवेदीले एक सय १० र सिद्धान्त लोहनीले ४० बलमा ७२ रन बनाए । बाग्मतीका रामनरेश गिरीले पाँच विकेट लिए ।

याे जितसँगै प्रदेश एक दुई अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको बाग्मती पुछारमा छ ।