श्रीलंकाको पोष्टमा नेपालको आधा दर्जन गोल


काठमाडौं । नेपाली महिला टिम दशरथ दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६–० को फाराकिलो जित निकाल्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह बीको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो । यो समूहबाट भुटान यसअघि नै सेमिफाइनल पुग्दा श्रीलंका अंकबिहीन हुँदै घर फर्किएको छ। खेलमा समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोलको अग्रता लिएको छ ।

नेपालको जितमा अमिशा कार्कीले २ गोल गर्दा रश्मीकुमार घिसिङ, सुरु लिम्बू, अमृता जैशी र दीपा शाहीले पनि गोल गरे । नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल गरेको थियो । १०औं मिनेटमा रश्मीकुमार घिसिङको गोलमा नेपालले सुरुवाती अग्रता लियो । त्यसको एक मिनेटपछि नै सुरु लिम्बूले नेपालको अग्रता दोब्बर बनाइन् ।

१७औं मिनेटमा अमृता जैशीले गोल गर्दै खेलमा नेपाललाई ३–०को अवस्थामा पुर्याउँदा इन्जुरी समयको अन्तिम समयमा दीपा शाहीले गोल गरेपछि पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४–०को अग्रता लिएको हो । ७७औं मिनेटमा डिफेन्सको गल्तीको फाइदा उठाउँदै अमिशा कार्की गोल गर्दै नेपाललाई ५–०को अग्रता दिलाइन्।

अमिशाले नै इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि नेपाल ६–०ले विजयी भयो । श्रीलंकाविरुद्ध नेपाली टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी भने मैदानमा देखिइनन् । डेंगु संक्रमण भएपछि सावित्रा टिममा थिइनन् । अब नेपालले फाइनल प्रवेशका लागि भारत र बंगालादेश मध्ये एकसँग खेल्ने छ।