नेपाल भारतसँग ८ गोलले पराजित


काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल भारतसँग भने आठ शून्यले पराजित भयो । भारतले नेपालको पोष्टमा गोलको बर्षा गर्यो । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा नेपालको प्रदर्शन अपेक्षा अनुसार रहन सकेन ।

खेलको ३२ औं मिनेटमा नेपालविरुद्ध भारतका टाइसन सिंहले गोल गर्न सफल भए । नेपाली गोलकिपर ईश्वर गुरुङको गल्तिको फाइदामा टाइसनले सहज रुपमा हेडर गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोल खायो । खेलको ५१ औं मिनेटमा भारतका लागि पार्थिव सुन्दर गोगोईले गोल गर्दै अन्तर दुई शुन्यमा पुर्याए । त्यसपछि ५२ औं मिनेटमा पार्थिवले नै ब्यक्तिगत दोस्रो गोल गर्दा नेपाल तीन शुन्यले पछाडि पर्यो ।

६१ औं मिनेटमा नेपालले चौथो गोल खायो । भारतका लागि पाथुप गिमानाले गोल गरे । त्यसपछि ७१ औं मिनेटमा नेपालले पाँचौं गोल खायो । भारतका लागि हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गरे ।

७८ औं मिनेटमा भारतले नेपालको पोष्टमा छैटौं गोल थप्यो । यसपटक टंकाधर गोउले गोल गरे । भारतविरुद्ध निरिह देखिएको नेपालले पुरै खेलमा उल्लेख्य अवसर जुटाउन सकेन ।

भारतको गोल गर्ने क्रम यतिमा रोकिएन । खेलको अन्तिममा गुरक्रित सिंहले गोल गर्दै टिमलाई सात शुन्यको अग्रता दिलाए । खेलको अन्तिममा फेरी भारतका लागि सुभो पलले गोल गर्दा नेपाल आठ शुन्यले पराजित भयो । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । जारी प्रतियोगितामा नेपाल एकै खेलमा धेरै गोल खाने टिम बनेको छ ।