राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


काठमाडौं । खेलकुदको आधारस्तम्भका रुपमा रहेको केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको उदटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्चपास गरे । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी प्रस्तुत गरेका थिए ।

अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो । ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएकी थिइन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनैपनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो ।

निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरे । विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडी सहभागी छन् ।

एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रोपटक हो ।