भिल्लारियललाई हराउँदै चेल्सीले जित्यो सुपर कपको उपाधि


भिल्लारियललाई पेनाल्टी शुटआउटमा ६–५ गोलले पराजित गरी इंग्लिस टोली चेल्सीले युरोपेली सुपर कपको उपाधि जितेको छ । युईएफएले च्याम्पियन्स लिग विजेता र युरोपा लिगको विजेतालाई नयाँ सिजनको सुरुवातअघि सुपर कपमा प्रतिस्पर्धा गराउँदै आएको छ ।

भिल्लारियल युरोपा र चेल्सी च्याम्पियन्स लिगका साविक विजेता हुन् । उत्तरी आयरल्याण्डको बेलफाष्टस्थित विस्डन पार्कमा भएको खेलमा चेल्सीका सब्स्टिच्युड गोलरक्षक केपा अरिजावालागाले भिल्लारियलका कप्तान राउल अलवियोलको पेनाल्टी बचाएपछि चेल्सी सुपर कप जितेको हो ।

यसअघि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको चेल्सीले २७ औं मिनेटमा हाकिमी जियाजको गोलमा अग्रता लिए पनि ७३ औंै मिनेटमा जेरार्ड मोरेनोले गोल फर्काएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुगेको हो ।

सुपरकप पहिलोपल्ट उत्तरी आयरल्याण्डमा खेलिएको हो । यो खेल प्रत्यक्ष हेर्न १३ हजार दर्शकलाई रंगशला प्रवेश दिइएको थियो । कोरोना महामारीपछि यति धेरै दर्शकलाई राखेर खेलकुद गरिएको यो पहिलोपल्ट हो ।