युरोपका विभिन्न ११ सहरमा जारी १६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
गएराती अन्तिम १६ का दुई खेल सकिएसंगै प्रतियोगीताको क्वार्टरफाईनल समिकरणले पुर्णता पाएको हो । युरोकपको क्वार्टरफाईनलमा ईङल्याण्ड, युक्रेन, स्विट्जरल्याण्ड, स्पेन, बेल्जियम, ईटाली, चेक रिपब्लिक र डेनमार्कले स्थान बनाएका छन् ।
‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’का चारै टोली अन्तिम १६ बाटै बाहिरिएका छन् । समुह एफमा साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स, जर्मनी तथा हङ्गेरी रहेका थिए । पोर्चुगल बेल्जियमसँग १–० गोलले पराजित हुँदै बाहिरिएको हो भने फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै बाहिरिएको हो ।
जर्मनी इङ्ग्ल्यान्डसँग पराजित हुँदै बाहिरिँदा हङ्गेरी समूह चरणबाटै बाहिरिएको थियो । क्वार्टरफाईनल चरणका खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।क्वाटरफाइनलको पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुने छ । स्वीट्जरल्याण्ड र स्पेनको खेल शुक्रबार राति पौने १० बजेदेखि शुरुहुने छ ।
यसैगरी दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली आमने सामने हुने छन् । इटलीले अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दा बेल्जियमले पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो । बेल्जियम र इटालीको खेल भने राति पौने १ बजे शुरुहुने छ ।
यसैगरी शनिबार चेक रिपब्लिक र डेनमार्क आमने सामने हुने छन् । चेकले नेदरल्याण्ड्सलाई पराजित गर्दा डेनमार्कले वेल्सलाई स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । चेक रिपब्लिक र डेनमार्कको खेल राति पौने १० बजे हुने ।
यसैगरी क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने छ । युक्रेनले स्वीडेनलाई पराजित गर्दा इंग्ल्याण्डले जर्मनीलाई पराजित गर्दै अन्तिम आठको टिकट पक्का गरेका थिए । इंग्ल्याण्ड र युक्रेनको खेल राति पौने १ बजे हुने छ ।

प्रतिक्रिया