कप्तान लियोनल मेस्सी चम्किएपछि कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले बोलिभियाबिरुद्ध शानदार जित दर्ता गरेको छ ।
रियो दि जेनेरियोमा भएको खेलमा मेस्सीको २ गोल मद्दतमा अर्जेन्टिनाले ४–१ को शानदार जित निकालेको हो । थप गोल अलेक्जेड्रो गोमेज र लाउतारो मार्टिनेजले गरे । बोलिभियाका ईरविन साबेन्द्राले एक गोल फर्काए ।
छैठौ मिनेटमा गोमेजको गोलमा अग्रता बनाएको अर्जेन्टिनाका लागि मेस्सीले ३३ औ मिनेटमा पेनाल्टिमा पहिलो गोल गरेका थिए । उनैले ४२ औ मिनेटमा अर्को गोल गरेपछि पहिलो हाफमै अर्जेन्टिना ३–० को बलियो अवस्थामा पुग्यो । ६० औ मिनेटमा बोलिभियाका साबेन्द्राले गोल गर्दै टोलीको अन्तर घटाएका थिए ।
त्यसको ५ मिनेटपछि मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को अवस्थामा पुर्याए । खेलमा बोलिभियाबिरुद्ध अधिकांश समय बल पोजिशन आफ्नो पक्षमा पारेको अर्जेन्टिनाका दर्जनबढि थप अवसर विफल बनेका थिए ।
जितसंगै अर्जेन्टिना समुहचरणमा अपराजित रहदै समुह विजेताका रुपमा क्वार्टरफाईनलमा प्रबेश गरेको छ । ४ खेलबाट उसको १० अंक भएको छ ।

प्रतिक्रिया