पोर्चुगल र जर्मनीको युथ टोली यु–२१ युरोपेली च्याम्पियन्ससिपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले इटालीलाई तथा जर्मनीले डेनमार्कलाई पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।
पोर्चुगलले १० खेलाडीमा समेटिएको इटालीलाई अतिरिक्त समयमा ५–३ ले पराजित गरेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको शुरुमै माटियो लोभाटो दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि इटाली १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा पोर्चुगलले उठाउँदै दुई गोल गर्दै टोलीलाई सेमिफाइनलको बाटो देखाए ।
पोर्चुगलका डानी मोटाले दुई तथा गोन्कालो रामोस, जोटा र चिको कोन्सिकाओले समान एक गोल गरे । इटालीका टोमासो पोवेगा, जियानलुका स्कामाका र प्याट्रिक कटरोनले गोल गरेपनि हार टार्न सकेन ।
यस्तै अर्को खेलमा जर्मनीले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित समयको खेलमा २–२ गोलको बराबरी र त्यसपछि थप गोल निस्कन नसक्दा पेनाल्टी सुटाउटमा धकेलिएको थियो ।
यस्तै क्वाटरफाइनलकै अर्को खेलमा सफलता हात पार्दै स्पेन र नेदरल्यान्ड्सले पनि अन्तिम चारको यात्रा तय गरेको छ । नेदरल्यान्ड्सले फ्रान्सलाई २–१ ले तथा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
अब सेमिफाइनलमा स्पेन र पोर्चुगल तथा नेदरल्यान्ड्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल ७ जुलाईमा हुनेछ ।

प्रतिक्रिया