अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने


अर्जेन्टिनाले देशभरि कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले जानकारी गराएको छ ।

कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो बर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य सङ्कटका कारण खेल सञ्चालन गर्न कठिनाई भएको जानकारी गराएको बुभिएको छ ।

“वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्जेन्टिनामा गरिने कोपा अमेरिकाको सञ्चालनलाई अन्यत्र लग्ने प्रयास भइरहेको छ,” दक्षिण अमेरिकी फुटबल महासंघले आफ्नो आधिकारिक ट्वीटर पेजमार्फत् सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “आयोजक अर्जेन्टना पछिहटेपछि महाद्वीपीय प्रतियोगिताको आयोजना गर्न चासो देखाएको अन्य देशहरूबाट प्राप्त भएका प्रस्तावहरूको हामी विश्लेषण गरिरहेका छौं । यस सम्बन्धमा समाचार छिट्टै घोषणा गरिनेछ ।”

अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या ३७ लाख पुगेको बताएको छ भने ७७ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको जनाएको छ । अर्जेन्टिनामा महामारी नियनत्रण गर्न सरकार विफल भएको भन्दै भएको १० दिनदेखि सरकार विरोधी व्यापक प्रदर्शन भइरहेका समय सरकारले खेल आयोजनागर्न नसक्ने जनाएको हो ।