युभेन्टस आगामी सिजनको च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्टसले बोलोग्नामाथि ४–१ को जित निकाल्दै युभेन्टसले तालिकाको चौथो स्थानमा रहेर सिजनको अन्त्य गरेको हो ।
गएराति भएको खेलमा बोलोग्नालाई उसैको मैदानमा हराउदा अल्भारो मोरोताले दुई गोल गरे भने फेडेरिको चिसा र एड्रियन राबिओटले समान एक एक गोल थपे । बोलोग्नाका रिकार्डो ओर्सोलिनीले एक गोल फर्काए । छैटौ मिनेटमा चिसाले गोल गर्दै युभेन्टससलाई अग्रता दिलाएका थिए । मोरोताले २९ औ मिनेटमा गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर पारेको थियो ।
पहिलो हाफको अन्तिम समयमा राबिओटले गोल गर्दै युभेन्टसलाई पहिलो हाफभरि ३–० को अग्रता दिलाए । खेलको ४७ औ मिनेटमा मोरोताले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० गोलको अग्रता दिलाए । ८५औ मिनेटमा आर्सोलिनीले बोलोग्नाका लागि सान्त्वना गोल फर्काए । जितसंगै युभेन्टसले युरोपियन च्याम्पियन्स लिगको यात्रा सुनिश्चित गरेको छ ।
च्याम्पियन्स लिगको दाबेदार टोली नापोली हेल्लास भेरोनासंग एक एक गोलको बराबरीमा रोकिएपछि युभेन्टसको भाग्य खुलेको हो । यो सिजन सिरि ए विजेता ईन्टर मिलान, एसी मिलान र एटलान्टाले च्याम्पियन्स लिगमा स्थान बनाईसकेका छन् ।
गएराती भएका अन्य खेलमा ईन्टर मिलानले युडिनेसलाई ५–१ ले, एसी मिलानले एटलान्टालाई तथा सासुउलोले लाजियोलाई समान २–० ले पराजित गरे ।

प्रतिक्रिया