जर्मन बुन्डेसलिगाको उपाधि विजेता बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा शानदार जित हात पारेको छ । बुण्डेश लिगाको आफ्नो अन्तिम खेलमा बायर्नले अग्सबर्गमाथि ५–२ को फराकिलो जित निकालेको हो ।
गएराती आफ्नै मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सर्जी ग्नाब्री, जोसुवा किम्मिच, किङ्ग्ले कोमान र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।अग्सबर्गका आन्द्रे हान र फ्लोरियन निदरलेच्नरले गोल गरे । बायर्नले आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । खेलको नवौँ मिनेटमा अग्सबर्गका जेफ्रे गोवेलीउले आफ्नै पोस्टमा गोल गरेपछि बायर्नले अग्रता बनाएको हो ।
२३औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा किम्मिच तथा ४३औँ मिनेटमा कोमानले गोल गरेपछि बायर्नले पहिलो हाफमै ४–० को बलियो अवस्थामा पुगेको थियो ।
६७औँ मिनेटमा हान र ७१औँ मिनेटमा निदरलेच्नरले गोल गर्दै अग्सबर्गको अन्तर घटाएका थिए । ९०औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ५–२ गोलान्तरको जित दिलाए । जितसँगै बायर्नले ३४ खेलमा ७८ अङ्क जोड्दै उपाधिका साथ सिजनको अन्त्य गरेको छ ।

प्रतिक्रिया