बार्सिलोना घरेलु मैदानमा ग्रानाडासंग पराजित, उपाधि होडमा धक्का


स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना पछिल्लो खेलमा ग्रानाडासंग २–१ गोल अन्तरले पराजित भएको छ । यो हारसंगै शीर्ष स्थानमा पुग्ने बार्साको प्रयास असफल भएको छ ।

नाउ क्याम्पमा २३ औ मिनेटमा लियोनल मेस्सीको गोलमा अग्रता बनाएको बार्साले दोस्रो हाफमा लय गुमाएको थियो । ८२ प्रतिशत बल पोजिशनको खेलमा बार्साले दुबै गोल रक्षापक्तिको गल्तीमा कारण खाएको थियो । डार्बिन डानियलले ६३ औ मिनेटमा ग्रानडालाई बराबरीमा पुर्याएका थिए ।

७९ औ मिनेटमा जर्ज मोलिनाले अर्को गोल गरेपछि ग्रानाडा विजयी बनेको हो । खेलमा बार्साका आधा दर्जन अवसर खेर गएका थिए । हारका बाबजुत बार्सिलोना ७१ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ । ग्रानाडा ४५ अंकमा आठौ स्थानमा छ ।