काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबारदेखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी विजयी भएको छ ।
काठमाडौँले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौँका लागि मेसौके ओलुमोउले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ६६औँ मिनेटमा गोल गरेका हुन् ।
पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् । प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले एक/एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया