युरोपियन सुपर लिगमा भाग लिन प्रिमियर लिगका ठूला ६ सहित १२ वटा क्लब तयार


नयाँ युरोपेली सुपर लिग (ईएसएल) मा भाग लिन प्रमुख ६ सहित १२ वटा क्लब तयार भएका छन् । तिनमा आर्सेनल, चेल्सी, लिभरपूल, म्यानचेस्टर सिटी, म्याचेस्टर युनाइटेड र टोट्नम पनि छन् ।

युरोपियन फुटबलमा हलचल ल्याइदिएको उक्त कदमअन्तर्गत प्रिमियर लिग क्लबमा एसी मिलान, एट्लेटिको मड्रिड, बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र रियल मड्रिड पनि जोडिएका छन् । संस्थापक क्लबहरूले ’नयाँ मध्यसप्ताह प्रतिस्पर्धा’ आयोजना गर्न सहमति गरेको ईएसएलको भनाइ छ ।

तर ’सम्बन्धित राष्ट्रिय लिग प्रतिस्पर्धालाई उनीहरूले निरन्तरता’ दिने छन् । उसले उद्घाटन छिट्टै सुरु हुने अपेक्षा गरिएको र थप तीनवटा क्लब पनि जोडिने आशा गरिएको जनाएको छ । ईएसएलको योजनामा पुरुष खेल सुरु भएपछि जतिसक्दो छिटो महिला प्रतिस्पर्धा पनि गराउने भनिएको छ ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, युनियन अफ युरोपियन फुटबल एशोसियसन (युईएफए) र प्रिमियर लिगले आइतवार युरोपियन सुपर लिगबारेको समाचार आएपछि उक्त कदमको भत्र्सना गरेका छन् । फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यसअघि त्यस्ता प्रतिस्पर्धालाई मान्यता नदिने बताएको थियो।

उसले त्यसमा संलग्न हुने खेलाडीलाई विश्व कपमा खेल्नबाट रोक लगाउन सक्ने समेत जनाएको थियो । युईएफएले त्यसमा संलग्न खेलाडीहरूलाई घरेलु, युरोपेली वा विश्वस्तरका खेलमा सहभागी हुन प्रतिबन्ध लगाउने र उनीहरूलाई आफ्नो देशको राष्ट्रिय टीममा पनि संलग्न हुन रोक्ने चेतावनी आइतवार दोहोर्याएको छ ।

सुपर लिगको घोषणापछि फिफाले प्रस्तावित प्रतिस्पर्धालाई मान्यता नदिने घोषणा गरेको छ । उसले खेलको राम्रोका निम्ति तातो बहसमा संलग्न सबैलाई शान्त हुन र सन्तुलित एवम् रचनात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ।