ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपको विजेताले तीन लाख पाउने


काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् । आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशी सार्वजनिक गरेका हुन् । प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म आयोजना हुँदैछ ।

प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपचिश्म प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै छन् । ट्वान्टी–ट्वान्टी संरचनामा आयोजना हुने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार रुपैयाँ पाउने नेपाल क्रिकेट संघले बताएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । कुल ७ खेल हुने प्रतियोगिताका लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले खेलकुदलाई अगाडि बढाउनका लागि महानगरले सधै हातेमालो गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।