‘सी’ डिभिजन लिगमा वीरगन्ज युथ एकेडेमी विजयी


काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा शनिबार भएको खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वीरगञ्ज एकेडेमीले महावीर क्लबलाई तीन शून्य गोलअन्तरले पराजित गरेको हो ।

वीरगञ्जका लागि सिर्जनराम गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक–एक गोल गरे । खेलको २०औँ मिनेटमा वीरगञ्जका लागि गौतमले पहिलो गोल गरेका थिए । खेलको ६६औँ मिनेटमा चौधरीले दोस्रो गोल गर्दै खेललाई दुई शून्यको अवस्थामा पुर्याए । यस्तै खेलको ७५औँ मिनेटमा शाक्यले वीरगञ्जका लागि तेस्रो गोल गर्दै तीन शून्यका साथ आफ्नो टोलीलाई जित दिलाए।

जितसँगै समूह ‘ए’ मा रहेको वीरगञ्जले दुई खेलबाट छ अङ्क जोडेको छ । महावीर अङ्कविहीन अवस्थामा छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।