काठमाडौं । सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई १–० ले हराउँदै सहिद स्मारक बी डिभिजन लिगको उपाधि उचालेको छ । सातदोबाटोले११ खेलबाट ९ खेलमा जित निकाल्दा १ मा बराबरी र १ खेल गुमाउन पुगेको थियो । बी डिभिजन लिगको च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले बिहीबार आफ्नो अन्तिम खेललाई सुखद बनाउँदा समर्थकको साथले निकै खुसी थियो । सुखद अन्त्य अनि शीर्ष डिभिजन यात्रा साकार बन्दा टोलीलाई समर्थकले निकै हौसाला प्रदान गरेका थिए ।
२०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सि डिभिजनको यात्रा तय गरेको थियो । करिब ९ वर्ष सि डिभिजनबाट बी डिभिजनमा उक्लिन मिहिनेत गरेको सातदोबाटोले ११ वर्ष पछि बी डिभिजनका खेलमा अनुभव सगाल्ने मौका पाएको थियो ।
२०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ । बिहीबारको अन्तिम खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले ६७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा आङथुपुले गरेको गोलले सातदोबाटोको बी डिभिजन यात्रा सुखद बनेको हो । ए डिभिजनमा पुग्दा टोलीले निकै मिहिनेत गरेको सातदोबाटोका कप्तान बसन्त तामाङले बताए ।
प्रतियोगितामा खुमलटार युथ क्लब दोस्रो बन्दा बाँसबारी युथ क्लब बी डिभिजन लिगमा तेस्रो टोली बन्यो । शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटो युथ क्लबले च्याम्पियन ट्रफीसँगै नगद १५ लाख रुपैयाँ हात पार्योभने दोस्रो भएको खुमलटारले १०, तेस्रो भएको बाँसबारीले ८ तथा चौथो भएको ब्वाइज युनियनले ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
१२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भयो । प्रतियोगितामा खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक बी डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिँदा सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर घोषित भए ।
त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्दा खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्यो ।

प्रतिक्रिया