डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश, युभेन्टस बाहिरियो
जर्मन क्लब बोरुसीया डर्टमण्ड र पोर्चुगीस क्लब एफसी पोर्टो च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा सेभियासंग २–२ गोलको बराबरी खेल्दै डर्टमण्डले समग्रमा ५–४ को जितसंगै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा डर्टमण्ड ३–२ गोल अन्तरको जित हात पारेको थियो ।
घरेलु मैदानमा बोरुसीयाले ३५ र ५४ औ मिनेटमा गोल गर्दै सेभियाबिरुद्ध अग्रता बनाएको थियो । दुबै गोल आर्लिङ हालाण्डले गरेका थिए । तर दोस्रो हाफमा सेभियाले खेलमा फर्कने प्रयास गरेको थियो । ६८ औ मिनेटमा युसुफ नेस्रीले गोल गर्दै सेभियाको अन्तर घटाएका थिए । उनैले ईन्ज्युरी समयमा अर्को गोल गर्दै दोस्रो लेग बराबरीमा पुर्याएका थिए । यद्यपी पहिलो लेगमा आएको नतिजाका कारण उसले समग्रमा ५–४ गोलको हार भोग्यो ।
दोस्रो लेगमा एफसी पोर्टोलाई ३–२ ले हराएपनि अवे गोलमा पछि पर्दै युभेन्टस अन्तिम १६ बाटै बाहिरिएको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पोर्टोलाई हराएपनि अवे खेलमा आएको नतिजा युभेन्टसलाई घातक बन्यो । पोर्टोको मैदानमा भएको पहिलो लेगमा घरेलु टोली २–१ ले बिजयी भएको थियो । जसका कारण समग्र नतिजा ४–४ को आएपछि अवे गोलमा पोर्टो अघि रहदै अन्तिम आठमा प्रबेश गर्यो ।
युभेन्टसलाई जिताउन फेडरिको चिसाले २ तथा एड्रियन राबिओटले एक गोल गरे । पोर्टोका सर्जियो ओलीभिराले दुई गोल गरे ।च्याम्पियन्स लिग फुटबलमा आज लिभरपुल र आरबी लाईपजिग तथा पेरिस सेन्ट जर्मेन र बार्सिलोना प्रतिस्पर्धा गर्नेछन् ।