काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा विराटनगर महानगरपालिकाको टोली विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । विराटनगरका लागि विजयी गोल पार्वती घलेले गरेकी हुन् । खेलको नवौैँ मिनेटमा घलेले निर्णायक गोल गरेकी थिइन् ।
खेलमा पुलिसले थुप्रै अवसर पाए पनि गोल गर्न भने सकेन । विराटनगरको जारी लिगमा यो तेस्रो जीत हो । विराटनगरले हालसम्म ६ खेलबाट १० अङ्क जोडेको छ । विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
पुलिसले ६ खेलमा ८ अङ्क जोडेको छ । हारसँगै पुलिस लिगको चौथो स्थानमा झरेको छ । हारसँगै पुलिस उपाधि होडबाट बाहिरिएको छ । लिगको पहिलो चरणको खेल बुधबार सम्पन्न भएका छन् । अब लिगको दोस्रो चरणका खेल शनिबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

प्रतिक्रिया