दाङ । प्रधानमन्त्री कप महिला क्रिकेटको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले सहज जित हात पारेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले हराएको हो ।
दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपीएफले दिएको २ सय ३६ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा अलआउट हुँदै जम्मा ३१ रन मात्रै बनायो । कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफकी करुणा भण्डारी एक्लैले ५ विकेट लिइन भने राजमती भण्डारीले २ र सोनु खड्का र रेखा रावलले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि सीता रानामगरले सर्वाधिक ६८ रन बनाइन भने सरिता मगरले ४४, ज्योती पाण्डेले ३२ र इन्दु बर्माले २२ रन बनाए ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुईलाई ९ विकेटले हराएको थियो । प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा कर्णाली प्रदेशले बिहान ९ बजे लुम्बिनीसँग खेल्नेछ भने दोस्रो खेलमा एपीएफले प्रदेश २ को सामना गर्नेछ ।

प्रतिक्रिया