काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् ।
६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो । उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए।
त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक थिए । सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी २० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो । त्यसपछि उनी भारत फर्किएका थिए ।


प्रतिक्रिया