नवौँ राष्ट्रिय खेलकूदका लागि कोरोना चुनौतीः सदस्यसचिव सिलवाल


पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका रुपमा रहेको बताएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले सोमबार साँझ पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा सिलवालले आगामी मङ्सिर १५ सम्म कोरोना सङ्क्रमण कम भएर अवस्था सहज भएकामा प्रतियोगिता निर्धारित समयमै आयोजना हुने स्पष्ट पारे ।

तीन महिनाका अवधिमा प्रतियोगिता तयारी, खेलाडी प्रशिक्षणलगायत काम सम्पन्न गर्न सकिने भएकाले निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा आफूहरु आशावादी रहेको सदस्य सचिव सिलवालले बताए ।

प्रतियोगिताका लागि पोखरामा एकदुई खेलका पूर्वाधारबाहेक अन्य सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले समेत प्रतियोगिता सञ्चालनमा कठिन नपर्ने उनले उल्लेख गरे । गण्डकी प्रदेशका ११ वटै जिल्लामा न्यूनतम एउटा खेल सञ्चालन गर्ने योजना रहेको भन्दै सिलवालले खेलाडी, प्रशिक्षक, खेल सङ्घ, पत्रकारिता जगतलगायतको सहयोगबाट पोखरा खेलकूदको शहरका रुपमा विकास हुँदै गएको बताए । उनले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता १६ हजार ५०० बाट बढाएर २० हजार पुर्याइने जानकारी पनि दिए ।

परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट पोखरामा गतवर्ष १३ सागका आठ खेल सम्पन्न भएको बताउँदै उनले सागपछि पोखरा रङ्गशालामा खेलकूद पूर्वाधारका विकास भएको जिकिर गरे ।