क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता



चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन् ।

यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् ।

यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् । पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले जानकारी दिए ।

यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने छन् । यसअघि पुरुष खेलाडीले सन् २०१९ मा ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन् । क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो । यस्तै क्यानले आव २०७१, ०७२ देखि ०७५र०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । क्यान निलम्बनमा परेको बेला सो समयको लेखापरीक्षण भएको थिएन ।

निर्वाचित क्यान आएर आइसीसीले फुकुवा गरेपछि बोर्ड बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो । त्यस्तै कोरोना कहरका बीच बन्द प्रशिक्षणका लागि क्यानले सरकारसँग अनुमति माग्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्दै बन्द प्रशिक्षणको वातावरण तयार पार्नका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष चन्दले बताए ।

आइसीसीको प्रावधानअनुसार मङ्सिर महिनाभित्रै राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न सरकारसँग अनुमति माग्ने निर्णयसमेत गरिएको छ । मङ्सिरभित्र पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि समन्वय गर्ने निर्णय क्यानले गरेको हो । नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ ।

सन् २०१७ र २०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो । क्यानले उनलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो । यस्तै कर्णाली प्रदेशमा क्रिकेट विकासका लागि केन्द्रीय सदस्य पदम खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । यस प्रदेशमा एउटा मात्रै जिल्ला सुर्खेतमा क्यानको शाखा रहेको छ ।

यस्तै केही दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीको क्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भण्डारीको परिवारसँग, उनी आबद्ध नेपाल प्रहरी र दुर्घटना गराउने गाडीका धनीसँग छलफल गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

क्यानले सम्झौता गरेका खेलाडीको जीवन बीमाका लागि तीन सदस्यीय समिति पनि गठन गरेको छ । कोषाध्यक्ष रोशन सिंह, सदस्यहरु दुर्गा पाठक र छुम्बी लामा सम्मिलित तीन सदस्यीय समितिले पुरुष र महिला खेलाडी, ग्राउन्ड स्टाफ, अफिस स्टाफहरुको एक वर्षको जीवन बिमा गर्नेछ । यस्तै विश्वकप क्रिकेटमा उत्कृष्ट ठहरिएका तत्कालीन कप्तान पारस खड्कालाई आइसीसीले उपलब्ध गराउने भनेको टोयोटा कारका लागि क्यानले पहल गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको