स्पेनीस लिग फुटबलमा बार्सिलोना विजयी


स्पेनीस लिग फुटबलमा गएराति शीर्ष टोलीहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिडलाई पछ्याईरहेको बार्सिलोनाले भियारियालमाथि ४–१ को फराकिलो जित निकाल्यो ।

जितसँगै बार्साले शीर्ष स्थानको रियालसँगको दुरी फेरी ४ अंकमा झारेको छ । भियारियालको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस सुवारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा भियारियालका टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई अग्रता लिएको थियो । यो जितपछि बार्सिलोनाले ३४ खेलमा ७३ अंक बनाएको छ । रियालको समान खेलबाट ७७ अंक छ ।

गएरातिको खेलमा रियाल म्याड्रिडले एथ्लेटिक बिल्वाओलाई १–० ले पराजित गर्यो । रियालका लागि सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरे । कोरोना महामारीपछि सुचारु भएको ला लिगामा रियलको यो लगातार सातौ जित हो ।

ला लिगामा चार चरणको खेल बाँकी रहँदा रियालले तीन खेलमा जित हात पारे उपाधि जित्नेछ । एजेन्सी